समाजवादी मोर्चाको सचिवालय गठनको गृहकार्य सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार ७, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी दल आवद्ध समाजवादी मोर्चा, नेपालको सचिवालय गठनको गृहकार्य सुरु भएको छ ।

सोमबार समाजवादी मोर्चा घोषणा हुँदा सैद्धान्तिक सहमति मात्रै सार्वजनिक गरिएको थियो । मोर्चा घोषणा कार्यक्रम सञ्चालन गरेका जसपा नेता राजेन्द्र श्रेष्ठले पनि मोर्चाबारे थुप्रै काम बाँकी रहेको बताएका थिए ।

नेपाली विशेषताको समाजवाद स्थापना गर्न मोर्चा बनाइएको सैद्धान्तिक व्याख्या भए पनि आम चासो भने नेतृत्व प्रणालीमा बढी देखिन्छ । किनकि नेत्रविक्रम चन्द विप्लव पनि यही मोर्चाका एक घटक हुन् । उनी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय प्रणालीप्रति चरम विमति राख्दै आएको दल हो ।

अन्य दलहरुको राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारकै नेतृत्व गरिरहेका छन् ।

प्रतिनिधिसभामा माओवादीसँग ३२, जसपासँग १२ र एकीकृत समाजवादीसँग १० सिट रहेकाले ५४ सांसद सहित यो मोर्चा सत्ता निर्माण र पुनर्निर्माणमा अर्थपूर्ण भूमिकामा छ ।

तर राजकीय भूमिकामा कतै प्रतिनिधित्व नरहेको विप्लवले समेत अब आलोपालो प्रणालीमा मोर्चाको नेतृत्व गर्नेछन् ।

अर्थात् देशकै प्रधानमन्त्री प्रचण्ड, पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र झलनाथ खनाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र अरु पूर्वउपप्रधानमन्त्रीहरु सहितको मोर्चालाई विप्लवले नेतृत्व गर्ने अवसर पाउने छन् ।

मोर्चाका नेताहरू, विप्लवले नेतृत्व गर्ने अवस्था बन्नुलाई सकारात्मक रुपमै लिनुपर्ने बताउँछन् ।

प्रकाशित : 22 June, 2023

प्रतिक्रिया दिनुहोस्