ओखलढुंगामा पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं । असार ८, ओखलढुंगामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ । उक्त घटनामा परी एक जना बेपत्ता भएका छन् ।
गएराति चम्पादेवी गाउँपालिका-८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी २९ वर्षीया श्रीमती शिवमाया र १८ महिनाकी छोरी कृतिकाको ज्यान गएको हो । गुरुङका १० वर्षीय छोरा दिनेश पहिरोमा परी बेपत्ता भएका छन् ।
बेपत्ताको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । राति करिब ११ बजेको समयमा बस्तीमाथिबाट आएको पहिरोले गुरुङसँगै स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले पुरिएको छ ।
ती दुई घरमा बस्दै आएकाले भने भागेर ज्यान जोगाएका बताइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले अहिले बेपत्ताको खोजी गरिरहेका छन् । पहिराले धनमाल र पशु चौपायको क्षति भने यकिन हुन सकेको छैन ।