केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अदालतको आदेशपछि काठमाडौंका हल संचालकले थाले हिन्दी फिल्मको प्रदर्शन

सहयात्रा टिभी

काठमाडौं । असार ८, अदालतको आदेशपछि आजदेखि काठमाडौंका हलमा हिन्दी फिल्म प्रदर्शन हुन थालेको छ ।

बिहीबार उच्च अदालत पाटनले हिन्दी फिल्म प्रदर्शनमा रोक नलगाउन काठमाडौं महानगरलाई अल्पकालिन अन्तरिम आदेश दिएसँगै आजदेखि हिन्दी फिल्म प्रदर्शन सुरु भएको हो । आजदेखि हल संचालकले यसअघि प्रदर्शन भइसकेको ‘जहा हट्के जरा बचके’ लाई पुन: रिलिज गरेका छन् ।

अधिकांश हलले विक्की कौशल र सारा अली खान स्टार फिल्मको शो प्रकाशित गरेका छन् । नयाँ फिल्म नभएपछि अदालतको आदेशलाई कार्यान्वयन गर्नको लागि सांकेतिकस्वरुप पुरानै फिल्मलाई पुनः रिलिज गरिएको चलचित्र संघले जनाएको छ । अदालतको आदेशपछि बिहीवार बेलुका बसेको संघको बैठकले भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

अदालतले सेन्सर पास भइसकेका फिल्मलाई समेत रोक नलगाउने आदेश दिएसँगै ‘आदिपुरुष’को प्रदर्शनको लागि पनि बाटो खुलेको छ । तर, वितरक ब्यांकटेस इन्टरटेनमेन्टले यसबारे कुनै निर्णय नभैसकेको बताएको छ ।

चलचित्र संघका प्रदर्शन सभापति प्रज्वल राणाले अदालतको आदेशलाई सम्मान गर्दै भारतीय फिल्मको प्रदर्शनलाई निरन्तरता दिने निर्णय संघको बैठकले गरेको बताए । पाटन उच्च अदालतले आगामी मंगलबार चलचित्र संघ र काठमाडौं महानगर दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

तर, पोखरा महानगरमा भने यो सप्ताहन्त भारतीय फिल्म प्रदर्शन नहुने भएको छ । मिडटाउन सिनेमाज् मल्टिप्लेक्सका प्रमुख निकेश द्धाले यसबारे आगामी आइतबार महानगर प्रमुखसँग छलफल गर्न लागिएको बताए ।

प्रकाशित : 23 June, 2023

प्रतिक्रिया दिनुहोस्