पशुपतिनाथमा सुनको जलहरी जाँच्न अख्तियारको टोली जाँदै

सहयात्रा टिभी

काठमाडौँ । असार १०, पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली आज अपरान्ह तीन बजे पशुपतिनाथ मन्दिरमा जाने भएको छ ।

जलहरी राख्दा अनियमिमता भएको सूचना बाहिर आएपछि त्यसबारे अख्तियारले छानबिन गरिरहेको छ ।

संसदमा समेत यसबारे प्रश्न उठेको थियो । आयोगका एक उच्च अधिकृतका अनुसार उजुरीबारे थप अनुसन्धान गर्न टोली पशुपतिनाथ मन्दिरमा जान लागेको हो ।

आयोगको टोलीले जलहरी नापजाँच गर्ने छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न हुनेछन् ।

उनीहरूले जलहरी बनाइएको सुनको गुणस्तर, तौललगायत विषयमा परीक्षण गर्ने जानकारी ति अधिकृतले दिए ।

जलहरीमा ११ केजी सुन घोटाला भएको र त्यसमा कोषकै पदाधिकारी संलग्न रहेको आशंका छ ।

२०७७ माघ १२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पत्नी राधिका शाक्य र सहयोगीका साथ पशुपतिनाथ मन्दिरमा पुगेर ‘संकल्प पूजा’ गरेर करिब १ अर्ब रुपैयाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए ।

प्रकाशित : 25 June, 2023

प्रतिक्रिया दिनुहोस्