प्रचण्डद्धारा असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास गर्ने तयारी

काठमाडौँ । असार ११, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन्।
उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक-पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए।
धादिङको गजुरीमा आदर्श बहुमुखी क्याम्पसको आज भवन समुद्घाटनका क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बुढीगण्डकी निर्माण महत्वपूर्ण रहेको बताए।
उनले आफ्नो पछिल्लो भारत भ्रमण ऐतिहासिक भएको भन्दै आगामी १० वर्षमा १० हजार मेगावाट बराबरको बिजुली खरिद गर्ने लगायत अन्य भौतिक विकास निर्माणसँग सम्बन्धित विषयमा महत्वपूर्ण सहमति भएको र त्यसले दीर्घकालीन प्रभाव पार्ने बताए ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतले आफूले राम्रो गरेको भएपनि नकारात्मक प्रवृति भएकाहरूले अनावश्यक विरोध गरेको प्रधानमन्त्रीको भनाइ थियो।