ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा फेरि ५ जना पक्राउ

सहयात्रा टिभी

काठमाडौँ । असार १२, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितताका बारेमा फेरि अनुसन्धान सुरु गरेको छ ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतका अनुसार गुरुङसहित, कलाधर देउजा, सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र भुपेन्द्रमणि केसी पक्राउ परेका हुन् । देउजा डिल्लीबजार मालपोत कार्यालयका पूर्वप्रमुख हुन् ।

केसी डिल्लीबजार मालपोतमा बसेर पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भूमि विज्ञसमेत भएका थिए । गौतम र कपाली पनि कर्मचारी हुन् । ललिता निवास जग्गा अनियमितता प्रकरणको अनुसन्धानका सिलसिलामा उनी पक्राउ परेको सीआईबी श्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, त्यो घटनामा जोडिएका अरु केही व्यक्तिहरुको पनि प्रहरीले खोजी गरी रहेको छ ।

ललिता निवासको जग्गा अनियमिततामा सुरुमा अख्तियारले अनुसन्धान थालेको थियो । उसले दायर गरेको भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अख्तियारले भ्रष्टाचार बाहेक ठगी र सरकारी कागजात किर्ते गरेको अभियोगमा समेत अनुसन्धान गर्नुपर्ने भनी राय तयार गरेको थियो ।

महान्यायाधीवक्ता कार्यालयले ठगीमा मुद्दा चल्न नसक्ने भनी फाइल बन्द गरिसकेको छ । दुई वर्षअघि सरकारी कागजात किर्तेको आरोपमा अनुसन्धान अघि बढे पनि मुद्दा दायर हुन सकेन ।

त्यतिबेला रोकिएको फाइल अहिले अघि बढेको हो । तत्कालीन मुलुकी ऐन अनुसार, किर्तेको अभियोगमा अनुसन्धान गर्न हदम्याद लाग्दैन ।

 

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्