अलिबाबा ग्रुपका संस्थापक ज्याक माले प्रचण्डसँग पनि भेट्ने

सहयात्रा टिभी

काठमाडौँ । असार १२, चिनियाँ उद्यमी एवं अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डौं आइपुगेका छन् ।

उनी सवार विमान बोइङ ७३७ म्याक्स त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको अध्यागमन विभागका अधिकारी खिमलाल भुसालले जानकारी दिए ।

उनी चीनबाट बंगलादेशको राजधानी ढाका हुँदै काठमाडौं आइपुगेका हुन् । स्रोतका अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ ।

विश्वको ठूलो मध्येको एक इ–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक माको पूरा नाम ज्याक मा युन हो । चिनियाँ धनाढ्यको सूचीमा पाँचौ नम्बारमा रहेका उनी विश्वका डलर अर्बपतिहरुको सूचीमा ६३ औं स्थानमा छन् ।

फोर्ब्सका अनुसार आजको दिनमा उनको रियलटाइम सम्पत्ति २३.५ बिलियन अमेरिकी डलर छ ।

विज्ञान र कलामा स्नातकसम्म अध्ययन गरेका उनी ५८ वर्षका मात्रै भए । इकमर्स बिजनेसमा आउनुअघि उनी ह्वाङजाउमा अंग्रेजी विषयका शिक्षक थिए । उनले अलिबाबा १९९९ स्थापना गरेका थिए ।

चीन सरकारसँग बिबाद भएर आईपीओ रोकिएयता उनी सार्वजनिक जीवनबाट टाढा गुमनाम बस्दै आएका छन् । उनी परिवारसहित टोक्योमा बसिरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

प्रकाशित : 27 June, 2023

प्रतिक्रिया दिनुहोस्