केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बजेटप्रति असन्तुष्ट दलहरुको संसदीय दलको बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । असार १३, कांग्रेस, माओवादी बाहेकका सत्ता साझेदार दलहरुले संसदबाट बजेट पास गर्न सघाउने कि नसघाउने भन्ने विषयमा आज निर्णय लिँदै छन् ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले आज बिहान बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्न लागेका हुन् । यसैगरी सरकारलाई समर्थन गरेको जनमत पार्टीले पनि बिहान मात्रै बजेट पारित गर्न सघाउने कि नसघाउने विषयमा निर्णय लिन लागेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने यसअघि नै बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेका छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक २०८० (बजेट) पास गर्ने तयारी छ ।

एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बुधबार बिहान साढे १० बजे संसदीय दलको बैठक बोलाइएको र सोही बैठकबाट बजेटबारे निर्णय लिने बताए । पाण्डेले यथास्थितिमा बजेट पास गर्न नदिने सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

उनका अनुसार एकीकृत समाजवादी सर्तसहित बजेट पास गर्ने पक्षमा छ । बजेट निर्माण प्रक्रियामा सांसदको भूमिकालाई कमजोर बनाएका कारण उत्पन्न असन्तुलनलाई सच्याउने प्रतिबद्धता प्रधानमन्त्री र अर्थमन्त्रीले रोस्ट्रमबाट व्यक्त गरे मात्रै बजेट पास गर्न सघाउने पाण्डेले बताए ।

यसैगरी जसपाका सांसद प्रदीप यादव, नाउपाका सांसद गंगाराम चौधरीले आज बस्ने पार्टीको संसदीय दलको बैठकबाट बजेटबारे आवश्यक निर्णय लिने बताएका छन् ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए । बजेट प्रस्तुत भएदेखि नै प्रतिपक्षसँगै सत्तापक्षका सांसदहरूले पनि असन्तुष्टि प्रकट गरिरहेका छन् ।

सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमा सोचेअनुसारको योजना र बजेट नपरेको तथा राजस्व संकलनको लक्ष्य तथा आवश्यकता बीच तालमेल नमिलेको भन्दै बजेट सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित : 28 June, 2023

प्रतिक्रिया दिनुहोस्