केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नक्कली शरणार्थी प्रकरणमा जारी थुनछेक बहस सरकारी तर्फ सकियो

सहयात्रा टिभी

काठमाडौं । जेठ २३, नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा सरकारी वकिलका तर्फको बहस आज सकिएको जनाएको छ ।

सरकारी वकिलका तर्फको बहस सकिएसँगै अब प्रतिवादीतर्फबाट कानुन व्यवसायीले बहस सुरु गर्ने जिल्ला अदालत काठमाण्डौका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी बहसमा यस प्रकरणका प्रतिवादीलाई थुनामुक्त गरे प्रमाण नष्ट हुनसक्ने तथा जाहेरीकर्ताको सुरक्षामा खतरा हुनसक्ने भन्दै थुनामा राखेर नै मुद्दाको पुर्पक्ष गर्नुपर्ने दलील सरकारी वकिलले प्रस्तुत गर्नुभएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

यो थुनछेक बहस यही जेठ ३१ गतेसम्म जारी रहने र त्यसपछि पुर्पक्षका लागि थुनामा पठाउने कि नपठाउने भन्नेबारेमा निर्णय लिइने बताइएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौले पक्राउ परेका १८ जनासहित फरार रहेका ३० जनालाई सङ्गठित अपराध, कीर्ते, ठगी तथा राज्य विरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख रुपैयाँ बिगो माग दाबीसहित जिल्ला अदालत काठमाण्डौमा यही जेठ १० गते मुद्दा दायर गरिएको थियो ।

 

प्रकाशित : 6 June, 2023

प्रतिक्रिया दिनुहोस्