गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको माग गर्दै आन्दोलन, जनजीवन प्रभावित

सहयात्रा टिभी

धनगढी । जेठ २८, कैलालीको गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आह्वान गरिएको बन्दका कारण आज सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन नचल्दा भारतका विभिन्न ठाउँबाट नेपाल आएका यात्रु धनगढी र महेन्द्रनगरमा अलपत्र परेका छन् । बस व्यवसायी, उद्योगी र स्थानीय बासिन्दाले पनि बन्द समर्थन गरेपछि प्रभाव झनै परेको हो ।

गत माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेसँगै आन्दोलन हुँदै आएको छ । राष्ट्रपतिले जेठ ५ गते प्रस्तुत गरेको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा पनि सोही कुरा उल्लेख गरिए पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रमविपरीत बजेट भाषणमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर एक सय शय्याको अस्पताल सञ्चालन गरिने उल्लेख भएपछि सुदूरपश्चिमवासी आन्दोलित भएका हुन् ।

कैलालीको गेटामा अहिलेसम्म साढे ५ अर्ब लागतमा अस्पताल, कलेज, प्रशासनिक र होस्टेलका लागि २७ वटा भवनको निर्माण सम्पन्न भइसकेको छ । अन्य भौतिक निर्माण पनि लगभग अन्तिम चरणमा छ । तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि सरकारले नीति तथा कार्यक्रममा उल्लेख भएको कुरालाई हटाउँदै गेटामा एक सय शय्याको अस्पतालसहित प्रतिष्ठान सञ्चालन गर्ने निर्णय गरेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलन समितिका संयोजक लोकराज पाण्डेले जनाए ।

मेडिकल माफियाको इसारामा गेटामा विश्वविद्यालय सञ्चालन हुन नदिने षड्यन्त्र भएको भन्दै संयोजक पाण्डेले माग पूरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

सुदूरपश्चिमका बासिन्दाको लामो आन्दोलनपछि कैलालीको गेटामा आर्थिक वर्ष ०७३/७४ मा मेडिकल कलेजका लागि भौतिक संरचना निर्माण गर्न थालिएको थियो । कमजोर स्वास्थ्य सेवा रहेको सुदूरपश्चिम प्रदेशमा विशेषज्ञसहितको उपचारका लागि पनि नागरिकले काठमाडौं र सीमावर्ती भारतीय अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

प्रकाशित : 11 June, 2023

प्रतिक्रिया दिनुहोस्