केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसिया-भैरहवा व्यवसायिक उडान सुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलोपटक मलेसिया-भैरहवा-काठमाडौं व्यवसायिक उडान सुरु गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान पौने ९ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी विमान मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको छ ।

साढे ७ बजे अवतरण हुने भनिएको जहाज झण्डै डेढ घण्टा ढिलो अवतरण भएको हो । विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण भएका छन् ।

नेपाली वायु सेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुलाई पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् । भैरहवामा यात्रुलाई ओरालेपछि विमान काठमाडौंमा अवतरणका लागि उडने छ ।

विमानमा मलेशियामा रोजगारी गरेर घर फर्केका नेपालीहरुका साथै मलेसियाका पर्यटन व्यवसायीहरु भैरहवामा अवतरण गरेका छन् भने बाँकी काठमाडौं ओर्लने छन् ।

नेपाल वायु सेवा निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया-भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया-भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो ।

तर अहिले मलेसिया-भैरहवा ३१ हजार र मलेसिया-काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेको सहप्रवक्ता घिमिरेले भने ।

 

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्