पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दाबी गरेको छ ।

मङ्गलवार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले यस्तो दाबी गर्नुभएको हो ।

आफ्ना दुई सन्तान रहेका र उनीहरूको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उहाँले सुन चोरी गरेको प्रमाण भेटिए जस्तोसुकै सजाय भोग्न तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘म सुनको जलहरी समितिको संयोजक हो । यसमा नेपाल राष्ट्र बैंकले दिएको सम्झौताअनुसार हामीले १०३ केजी सुन लिएर आएका छौँ ।

राज्यका प्रमुखहरूले जे निर्देशन दिनुहुन्छ, त्यो गर्नु के गलत हो ? अर्को कुरा, नेपाली सेनालाई विश्वास गर्ने कि नगर्ने त र? यो सुनको जलहरीमा नेपाली सेना २४ घण्टा ड्युटीमा रहेको छ । सुन हराएको हो भने सेनाले जिम्मा लिन पर्ने कि नपर्ने भनेर मैले प्रधानसेनापतिज्यूसँग पनि कुरा गरेको थिएँ ।

१० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । जलहरीमा १० केजी पुगेन भने जस्तोसुकै सजाय भोग्न तयार छु । आज मेरो गाउँभरि बेइज्जत भयो । म कमजोर होइन । तर राज्यले कमजोर बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने रु पटक–पटक हामीलाई मुद्दा चलाउँछु भनेको छ । जोखेर मुद्दा चलाउन । यो च्यालेन्ज हो ।’

सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरि जथाभाबी आरोप लगाउन नमिल्ने बताउनुभयो ।

त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढङ्गले प्रतिवेदन आएको उहाँको दाबी छ । बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।

 

प्रकाशित : 13 June, 2023

प्रतिक्रिया दिनुहोस्