केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार १८, बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।

विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ ।

प्रहरीले अनुसन्धान थालेपछि विभागका लागि समेत अनुसन्धान गर्न पत्राचार भएको र ढिलाइ भएमा उनको सम्पत्ति अन्यत्र जाने वा बेचबिखत हुने जोखिम बढेपछि तत्काल रोक्का राख्ने निर्णय भएको विभागका प्रवक्ता कृष्ण मैनालीले बताए ।

उनका अनुसार, यीमध्ये कतिपय सम्पत्ति प्रहरीले समेत रोक्का गरेको छ ।

विभागका अनुसार नेपालगञ्जसम्म सहकारी र त्यसका शाखा खोलेका उनले ती ठाउँमा सम्पत्ति जोडेको भेटिएको छ ।

सम्पत्ति खोज्ने क्रममा उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको प्रवक्ता मैनालीले बताए । विभागले साउनको दोस्रो सातादेखि शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको छ ।

शर्माले विभिन्न ११ वटा कम्पनीमा लगानी गरेको खुलेको छ । जग्गा, कम्पनीको खातादेखि शेयरसमेत रोक्का भएको छ । जग्गामात्रै करिब १०/१२ विगाहा रहेको खुलेको छ ।

उनले आफ्नो नाममा जोडेको सम्पत्तिको अहिलेसम्म प्रारम्भिक मूल्यांकन नभए पनि उनले ठगी गरेको रकमको हाराहारी सम्पत्ति विभिन्न ठाउँमा राखेको भेटिएको विभागका एक कर्मचारीले बताए ।

 

प्रकाशित : 3 July, 2023

प्रतिक्रिया दिनुहोस्