साफ च्याम्पियनसिप फाइनल आज : भारतसँग कुवेती दाउ
काठमाडौँ । असर १९, कीर्तिमान आठपल्टको साफ च्याम्पियनसिप फुटबल विजेता भारतले थप एक अर्को उपाधिका लागि मंगलबार फाइनलमा भिड्दै छ । तर, सन् २०२३ को प्रतिद्वन्द्वी भने फरक रहेको छ । यो हो आमन्त्रित टिम कुवेत ।
भारतीय मिडियाकै भनाइ मान्ने हो भने दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिताको यसपल्टको संस्करण सर्वाधिक प्रतिस्पर्धात्मक मात्र होइन, माथिल्लो स्तरको छ । सेमिफाइनलमा भारतले अर्को आमन्त्रित टिम लेबनानलाई टाइब्रेकरमा ४–२ ले हराएको थियो । कुवेतले भने बंगलादेशलाई अतिरिक्त समयको खेलपछि १–० ले पराजित गरेको थियो ।
लिग चरणमा दुवै टिम एकै समूहमा थिए । यो समूह ‘ए’ लाई कडा मानिएको छ । यसै समूहमा कुवेत विजेता र भारत उपविजेता रहेर अगाडि बढे । दुवै अपराजित मात्र रहेनन्, समान ७ अंकमा रहे । दुवै टिमले सुरुमा पाकिस्तान र त्यसपछि नेपाललाई हराएका थिए । त्यसपछि दुईबीचको तनावपूर्ण प्रतिस्पर्धात्मक खेल १–१ को बराबरीमा टुंगिएको थियो । कुवेतले गरेको बराबरी गोल दोस्रो हाफको इन्ज्युरी समयमा सम्भव भएको थियो, जुन आत्मघाती रह्यो ।
भारतीय टोलीका सहायक प्रशिक्षक महेश ग्वाली अबको फाइनल लिग चरणको खेलभन्दा फरक हुने मान्छन् । उनले सोमबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा भनेका छन्, ‘कुवेतविरुद्धको पछिल्लो खेल वास्तवमै निकै तनावपूर्ण रह्यो । लेबनानविरुद्धको जित पनि उत्तिकै तनावपूर्ण थियो । त्यसैले मैले खेलाडीलाई शान्त रहेर खेल्न भनेको छु । उनीहरूको ध्यान पूर्णतः फाइनल जित्नेमा केन्द्रित हुनुपर्छ । फाइनल पूर्णतः फरक हुनेछ । हामी यो खेललाई लिएर सकारात्मक छौ ।’
खेलाडीका रूपमा गवालीले सन् २००५ मा कराँची र सन् २०११ मा नयाँ दिल्लीमा भएको साफ च्याम्पियनसिप जितेका थिए । अब उनीसामु प्रशिक्षक भएर यही प्रतियोगिता जित्ने दुर्लभ अवसर छ । गवालीले भन्छन्, ‘अबको खेल लिग चरणको तुलनामा अझ गाह्रो हुने निश्चित छ । कुवेत वास्तवमै कडा विपक्षी टिम हो । अहिलेसम्म हामीले फाइनलमा दक्षिण एसियाली टिमकै सामना गर्दै आएकामा यसपल्ट फरक टिम छ ।’
कुवेत आफैं पनि उत्कृष्ट लयमा रहेको छ । टोलीले पछिल्ला ८ खेलमा अपराजित छ । फाइनल लिएर कुवेती प्रशिक्षक रुई बेन्टोले भनेका छन्, ‘हाम्रो भारतविरुद्धको पछिल्लो खेल निकै तनावपूर्ण रह्यो । मैले अहिलेसम्म फुटबलमा बटुलेको अनुभव के हो भने फाइनल भनेको सधैं फरक खेल नै हुने गर्छ ।’ ‘हामीले उपाधि जित्नकै लागि खेल्ने हो । खेलाडी फाइनल जित्ने मनसायमै केन्द्रित हुनुपर्छ र यो निकै महत्त्वपूर्ण छ,’ उनी भन्छन् ।
गत वर्षदेखि पोर्चुगाली प्रशिक्षक बेन्टोले कुवेती टिम सम्हालेका हुन् । कुवेतले सन् २०१० मा अन्तिम पटक कुनै उपाधि जितेको थियो । त्यतिबेला कुवेतले अरेबियन गल्फ कप जितेको थियो । टोलीले फाइनलमा साउदी अरेबियालाई हराएको थियो । त्यसपछि पहिलो उपाधि जित्नका लागि कुवेत एकै खेलमात्र टाढा छ । बेन्टो थप्छन्, ‘हामीले पछिल्ला २१ दिनमा सात खेल खेलेका छौं । अब फाइनलको पालो । यो खेलमा हाम्रा खेलाडी शतप्रतिशतभन्दा बढी खेल्नुपर्छ ।’