प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गर्दै बैठक अवरुद्ध

काठमाडौं । असार २०, प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागे गर्दै बैठक अवरुद्ध गरेको छ ।
बुधबार संसदको बैठक सुरु भएलगतै विशेष समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
‘रोड्स टु द भ्याली स् द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक बिमोचन कार्यक्रममा सोमबार प्रधानमन्त्री प्रचण्डले एक पटक आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंहले धेरै मिहिनेत गरेको र दिल्ली गएको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
एमाले संसद पन्तले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको र यसले नेपालको स्वाभिमान गिरेको बताए । प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलहरु एमाले, रास्वपा र राप्रापाका सांसदहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेको सूचना दिएका हुन् ।
आफूहरुकै अग्रसतामा प्रधानमन्त्री बनेका प्रचण्डको अभिव्यक्तिले नेपालीको मन रोएको भन्दै उनले भने, सम्मानीय प्रधानमन्त्री भनौं कि नभनौं जस्तो भएको छ ।’
अहिले आएर प्रधानमन्त्रीले नेपालको प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले यो आफूहरुलाई सैह्य नहुने बताए । एमाले सांसद पन्तले अघि भने, ‘प्रधानमन्त्रीले जे बोल्नुभयो, नैतिकताका आधारमा उहाँ प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, उहाँले राजीनामा गर्नुस् ।’
प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको उनले प्रष्ट पारे । एमाले सांसद पन्तले भने, ‘को मान्छे प्रधानमन्त्री बन्ने दलहरुले छलफल गर्लान् । तर जो दिल्लीतिर नफर्कने, नेपालतिर फर्कने, नेपाली माटोतिर फर्किने प्रधानमन्त्री चाहियो, जसले देश गरिमा र मर्यादाको रक्षा गर्न सकोस् ।’