श्रीमतीको हत्या गरी आत्महत्या

सहयात्रा टिभी

इलाम । असार २२, इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

इलामको माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ ।

गए राति करिब साढे १० बजेतिर चिच्याएको आवाज सुनेपछि छिमेकीले खतिवडाको घरमा गएर हेरेपछि घटनाबारे जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ । राधिका कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीचौकी गोर्खेका प्रहरी सहायक निरीक्षक मदन बस्नेत तथा प्रहरीचौकी जौबारीका प्रहरी सहायक निरीक्षक धनप्रसाद रिमालको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो ।

गालामा गहिरो चोट लागेकी राधिकाको घटनास्थलमै मृत्यु भएको एसपी घिमिरेले जानकारी दिए । पिताम्बर भने घरदेखि एक सय मिटर टाढाको निबारोको रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट समेत थप प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्