जिम्मेवारीबाट राजीनामा दिनसक्ने कोशीका सभामुखको संकेत

काठमाडौं । असार २२, सरकार गठनका लागि समर्थन गरेर विवादमा परेका कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिनसक्ने संकेत गरेका छन् ।
बिहीबार नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दा सभामुख गौतमले पनि समर्थनमा हस्ताक्षर गरेका थिए । उनकै समर्थनमा थापा मुख्यमन्त्री नियुक्त भएका छन् । तर सभामुख विवादमा परे ।
सभामुख गौतमले भने आफू हस्ताक्षर गर्ने मनस्थितिमा नभएको, तर राजनीतिक निकासका लागि अन्तिम अवस्थामा हस्ताक्षर गर्ने निर्णयमा पुगेको बताएका छन् ।
साथै उनले अहिलेकै जस्तो अंकगणित रहे आफूले जिम्मेवारीबाट राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने बताए । यद्यपि सभामुखको भूमिकामा रहँदासम्म निष्पक्ष भूमिका खेल्ने गौतमले बताएका छन् ।