पपस्टारको मृत्युले चीनमा मानसिक स्वास्थ्य समस्याको चर्चा

सहयात्रा टिभी

काठमाडौं । असार २२, पपगायक कोको लीको मृत्युले चिनियाँभाषी संसारलाई स्तब्ध तुल्याएको छ ।

चिनियाँ सामाजिक सञ्जालमा मानसिक स्वास्थ्य समस्याको चर्चा छाएको छ । साताको अन्त्यमा आफ्नै ज्यान लिने प्रयास गरेपछि कोमामा परेकी लीको मृत्यु भएको थियो । उनी ४८ वर्षकी थिइन् ।

उनी पछिल्लो समय डिप्रेसनबाट समेत पीडित थिइन् । चीनको मनोरञ्जन जगतकी आइकन रहेकी उनी हङकङमा जन्मिएकी अमेरिकी गायिका थिइन् ।

बिजुलीजस्तै ऊर्जा र भव्य मुस्कानका लागि उनी चिनियाँमाझ परिचित छिन् । बुधबार राति निधनको समाचार बाहिर आएपछि मानिस यसलाई विश्वास मानिरहेका थिएनन् ।

श्रद्धाञ्लीको रूपमा धेरैले उनको परिवारले उल्लेख गरेजस्तै मानसिक स्वास्थ्यको मुद्दामा ध्यान केन्द्रित गर्दै टिप्पणी लेखेका छन् । सीसीटीभी, पिपुल्स डेली र चाइना डेलीजस्ता चिनियाँ सञ्चारमाध्यमले डिप्रेसन र मानसिक स्वास्थ्यबारे जनचेतना जगाउन ‘डिप्रेसन तपाईंको नजिक छ’, ‘डिप्रेसनका संकेतहरु’ लेखिएका ह्यासट्यागहरु चलाइरहेका छन् । सांघाई न्युयोर्क युनिभर्सिटीमा समाजशास्त्रका सहायक प्राध्यापक डा. जिया मियाओ भन्छन्, ‘मानिसले यो झन् बढी दबाबको विषय भएको महसुस गर्न सक्छन् ।’

यो चीनले सामना गरिरहेको डरलाग्दो अवस्थाको लक्षण हो । मानसिक स्वास्थ्य समस्याबाट पीडित व्यक्तिको संख्या द्रूत रूपमा बढ्दा चिनियाँ चिकित्साको सञ्जालले यो समस्याविरुद्ध सामना गर्न सकिरहेको छैन । डिप्रेसन वा कुनै पनि मानसिक रोग लामो समयदेखि चिनियाँ समाजमा समस्या बन्दै आएको छ । चीनमा मानसिक रोगलाई संकेत गर्ने केही शब्दहरु ‘जिंगसेन बिंग, ‘सेन्जिङ बिंग’ छन् जसले मानसिक स्वास्थ्यको समस्या भएका मानिसलाई दिमागभन्दा बाहिरको मान्छेको रुपमा हेरिन्छ ।

विगत १० देखि १५ वर्षमा चीनको अर्थतन्त्र द्रुत गतिमा अघि बढेसँगै व्यक्तिमाथि दबाब बढेको छ । महामारी र चीनको अत्यन्त कडा ‘शून्य–कोभिड’ नीतिले पनि मानिसलाई असर गरेको छ ।

विद्यालय र कार्यस्थलमा हुने प्रतिस्पर्धा झन् उग्र बन्दै गएकाले चिनियाँ जनतालाई दबाब महसुस भएको र मानसिक स्वास्थ्यको समस्यातर्फ ध्यानाकर्षण भएको सांघाई न्युयोर्क विश्वविद्यालयका डा. मियाओले बताए । ‘धेरै मानिसले आफूलाई यी समस्याबाट पीडित पाएपछि उनीहरु परिवार र साथीसँग आफ्ना अनुभव साझा गर्न र पेशेवर मद्दत खोज्न इच्छुक छन् । यसले यस विषयमा उनीहरुको दृष्टिकोण स्पष्ट भएको छ’ उनले भने ।

चीन सरकारले यसलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । तर सबैभन्दा चुनौतीपूर्ण भनेको पर्याप्त व्यावसायिक मनोचिकित्सक नहुनु हो । सरकारी मिडिया चाइना युथ डेलीका अनुसार चीनमा सन् २०२१ को अन्त्यसम्ममा ६४ हजार मनोचिकित्सक मात्र थिए ।

 

 

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्