गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित

सहयात्रा टिभी

काठमाडौं । असार २२, गण्डकी प्रदेश सरकारकातर्फबाट अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेश सभामा पेश गरेको आगामी वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको छ ।

गण्डकी प्रदेश सरकारले पोहोरभन्दा डेढ अर्ब सानो ३३ अर्ब ४२ करोेड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटप्रति सत्तापक्षकै सांसदले तीव्र असन्तुष्टी जनाए भने प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले त २ पटकसम्म प्रदेश सभा नै अवरोध गर्‍यो ।

सरकारको नीति तथा कार्यक्रम र बजेटसँग तालमेल नभएको र सांसदको योजना काटेर कर्मचारीको योजना हालिएको भन्दै सत्तापक्षकै सांसदले असन्तुष्टि जनाए । सत्ता पक्षकै सांसदहरुले सरकारको बजेटमा कर्मचारीतन्त्र हाबी भएको आरोप लगाए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट मुस्ताङको उपल्लो क्षेत्रमा एउटा कार्यक्रममा पनि बजेटमा नपरेको भन्दै संसदमै सांसदले खेद प्रकट गरे भने कांग्रेस संसदीय दलको बैठकमा सामाजिक विकासमन्त्री सुशीला सिम्खडाको राजीनामा माग्नुपर्ने आवाजसमेत उठ्यो ।

विपक्षी सांसदहरुले सरकारले स्थानीय तहलाई अनुदान घटाएको, बजेटका कार्यक्रमको चुहावट भएको, बिगतका सरकारका कार्यक्रमले बजेटले संवोधन नगरेको भन्दै विरोध जनाए भने कार्यक्रम पुस्तिकामा सानो अक्षर भएको भन्दै संसद अवरुद्धसमेत गरे ।

प्रदेशको आन्तरिक स्रोतबाट राजश्वबापत ५ अर्ब १६ करोड ९१ लाख संकलन हुने अनुमान गरिएको छ । साथै चालु आर्थिक वर्षको कार्यक्रम कार्यान्वयनबाट ३ अर्ब नगद मौज्दात रहने अनुमान सरकारको छ ।

 

प्रकाशित : 7 July, 2023

प्रतिक्रिया दिनुहोस्