डा. भोला रिजालको ‘सेतो कोट’ सार्वजनिक

काठमाडौँ । असार २४, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं चर्चित गीतकार तथा डा. भोला रिजालको पुस्तक सेतो कोट सार्वजनिक भएको छ।
शनिबार काठमाडौंमा एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो। उक्त पुस्तक स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलगायत चिकित्सकहरूद्धारा लोकार्पण भएको थियो ।
समारोहमा स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा डा. भोला रिजालको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । डा. भोला रिजाल निःसन्तान दम्पतीको लागि बरदान बन्नु भएको छ। उहाँले आफ्नो क्षेत्रबाट बहुआयामिक काम गर्नु भएको छ। सबैले आफ्नो पोसाकको महत्व बुझ्न सकेका छैनन्। तर उहाँ आफ्नो काममा बर्षौदेखि निरन्तर लागिरहनु भएको छ, स्वास्थ्य मन्त्री बस्नेतले थप्नुभयो ।
चिकित्सा पेशा, चिकित्सकको कर्म, धर्म र मर्म बुझाउन आफुले पुस्तक लेखेको डा. भोला रिजालले बताउनुभयो । पुस्तकमा चिकित्सा पेशा शिक्षा र चिकित्सा आचारसंहिता बारेमा उल्लेख गरिएको छ।
समारोहमा मन्त्री बस्नेतसँगै, कलाकार मदन कृष्ण श्रेष्ठ, जितु नेपाल, निखिल उप्रेती, सञ्चिता लुइटेल, डा. सुरेन्द्र केसीलगायत चिकित्सकहरूको उपस्थिति थियो। पुस्तकमा डा. रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिईएको छ । लामो समय चिकित्सा पेसामा बिताउनुभएका डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे पुस्तकमा विवेचना गर्नुभएको छ ।
यो पुस्तक इटर्नल पब्लिकेसनले प्रकाशन गरेको हो। १४८ पृष्ठको पुस्तकको मूल्य ३७५ रहेको छ। पुस्तक बिक्रीबाट प्राप्त भएको केही रकमको समाजसेवामा लगाउने डा. रिजालले बताउनु भएको छ ।