युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग
काठमाडौँ । असार २४ युरोपका विभिन्न मुलुकबाट ४० हजार नेपाली कामदारको माग भएको जानकारी प्राप्त भएको छ ।
रोमानिया, पोर्चुगल, माल्टा, पोल्यान्ड लगायतका देशबाट ४० हजार नेपाली कामदारको माग आएको हो । तर, दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती मागहरू लामो समयदेखि थन्किएर बसेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले ४० को डिमान्ड दूतावासबाट प्रमाणीकरण नहुँदा एप्रुभ हुन नसकेको बताए । जसले गर्दा संस्थागत तबरबाट युरोप जान चाहने नेपाली श्रमिक जान नपाएको उनको भनाइ छ ।
युरोपका अधिकांश देशमा नेपाली दूतावास छैनन् । एउटै दूतावासले ७/८ देश हेर्नुपर्ने बाध्यता छ । जसले गर्दा उनीहरूले माग प्रमाणीकरणबारे हेर्न नसकिएको दूतावासका अधिकारीहरू बताउँछन् ।
पछिल्लो समय नेपालीहरूको रोजाई युरोप छ । युरोपका विभिन्न देशहरूमा लाखौं तिरेर दलाल मार्फत जाने गरेका छन् । जसले गर्दा ठगीका घटना समेत बढ्दो क्रममा देखिएको छ ।
श्रमिक पठाउन पूर्व स्वीकृति लिन सम्बन्धित देशमा रहेको नेपाली नियोगले माग प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकारले उक्त व्यवस्थालाई संशोधन गर्दै अनलाइन मार्फत सिधै वैदेशिक रोजगार विभागले माग प्रमाणीकरण गर्ने व्यवस्था गर्न लागिएको छ । आफ्नो अधिकार खोसिने भएपछि परराष्ट्रका अधिकारीहरू हच्किएको व्यवसायीहरूको आरोप छ ।