मेरो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि बस्दिनँ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले भनेर राजीनामा नगर्ने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा आफ्नो केही दिन पहिलाको अभिव्यक्तिलाई लिएर राप्रपा सांसद राजेन्द्र लिङदेनले नैतिकता भए राजीनामा गर्न दिएको सुझावको जवाफ दिँदै प्रचण्डले अरुले भनेर राजीनामा नदिने बताएका हुन् ।
‘नैतिकताको कुरा भन्नुभयो, ठिक छ । नैतिकताको आधारमा कसले कति गर्यो भनेर विगत हेर्नुभयो भने हुन्छ’, प्रधानमन्त्रीले भने, ‘हुन त माननीय राजेन्द्रजीको भर्खर दुई कार्यकाल भयोक्यारे तपाईँको ।’
उनले लिङ्देनलाई पहिलाको आफ्नो कार्यकालको हेर्न सुझाव दिए । उनले विगतमा आफूले दुवै पटक नैतिकताको धरातलमा टेकेर नै राजीनामा दिएको दाबी गरे । ‘ दुवै पटक नैतिकताको धरातलमा टेकेर नै मैले प्रधानमन्त्री छोडेको हो’, प्रचण्डको भनाइ छ ।
उनले अहिले पनि आफ्नो अन्तरआत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताए ।
‘अहिले पनि मेरो अन्तरआत्माले । तपाईँले भनेर त म गर्न सक्दिनँ । मेरो अन्तरआतमाले भन्यो भने एक मिनेट पनि बस्दिनँ म’, प्रधानमन्त्रीको जवाफ छ । तर उनले प्रतिपक्षले राजीनामा माग्ने बित्तिकै राजीनामा दिनुपर्ने संस्कार बसाउन नहुन आग्रह पनि गरे ।