बिहीबार बाट श्रीलङ्कामा इमर्जिङ टिम्स एसिया कप सुरु

सहयात्रा टिभी

काठमाडौँ । असार २७, एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुने आठवटै राष्ट्रले आफ्नो अन्तिम टोलीको घोषणा गरेका छन् ।

श्रीलङ्कामा बिहीबार सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कप जुलाई २३ तारिखसम्म चल्ने छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यसैगरी समूह ‘ए’ मा श्रीलङ्काको ‘ए’ टोली, बङ्गलादेशको ‘ए’ टोली, अफगानिस्तानको ‘ए’ टोली र ओमान रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन बिहीबार समूह ‘ए’ को दुईवटा खेल हुने छन् । श्रीलङ्काको ‘ए’ टोलीले बङ्गलादेशको ‘ए’ टोलीसँग प्रतिस्पर्धा गर्ने छ । बिहीबारकै अर्को खेलमा अफगानिस्तानको ‘ए’ टोलीले ओमानको सामना गर्ने छ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले कप्तान रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरेको छ । नेपाली टोली प्रतियोगितमा सहभागी हुन श्रीलङ्का पुगिसकेको छ । अन्य राष्ट्रका टोली पनि श्रीलङ्का पुग्ने क्रम जारी छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, देव खनाल, सन्दीप जोरा, कुशल मल्ल, ललित राजवंशी, भीम सार्की, पवन सर्राफ, आसिफ सेख, सूर्य तामाङ, किशोर महतो र श्याम ढकाल रहेका छन् ।

 

प्रकाशित : 12 July, 2023

प्रतिक्रिया दिनुहोस्