कुवेत जान श्रम स्वीकृति लिएका ११७ श्रमिक विमानस्थलबाटै फिर्ता

काठमाडौं । असार २८, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाटै फर्काएको छ ।
भिसा शंकास्पद रहेको भन्दै अध्यागमन कार्यालयले बुधबार साँझ सलाम एयरमार्फत कुवेत जान लागेका १०१ जना र बिहीबार बिहान कुवेत एयरमार्फत कुवेतमा जान लगेका १६ जना श्रमिकलाई विमानस्थलबाट फर्काएको हो ।
विभिन्न म्यानपावर कम्पनीमार्फत विभिन्न कम्पनीहरुमा काम गर्न भन्दै वैदेशिक रोजगार विभागबाट उनीहरूले श्रम स्वीकृति पनि लिइसकेका थिए ।
तर, अध्यागमनले सोधपुछका क्रममा विदेशमा घरेलु श्रमिकका रुपमा लैजान लागेको देखिएको भन्दै फर्काइदिएको हो । फर्काइएकामध्ये करिब आधा महिला पनि छन् ।
स्रोतका अनुसार इन्डेक्स म्यानपावरबाट ४७, युथ म्यानपावरबाट ३२ र निलकलम एचआरबाट २४ जना, सुलभ म्यानपावरमार्फत ४ जना श्रमिकले कुवेतको भिसा लगाएर श्रम स्वीकृति पाएका थिए ।
वैदेशिक रोजगार व्यवसायी संघले भने अध्यागमन कार्यालयको कदमको विरोध गरेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारी श्रम स्वीकृति लिएर हिंडिसकेका श्रमिकलाई विना कारण रोकेर दुःख दिने काम मात्रै भइरहेको बताउँछन् ।
‘सरकारले नै भिसा जाँचेर श्रम स्वीकृति दिएको छ, तर अध्यागमनले शंका लाग्यो भन्दै रोक्ने काम सही हैन,’ उनले भने, ‘अनाश्यवक रुपमा दुःख दिने काम भइरहेको छ, यसबारे गृहमन्त्रीज्यूसँगै कुरा राख्छौं ।’
आइतबार श्रम स्वीकृति लिएर जोर्डन हिंडेका १५ जनालाई अध्यागमन कार्यालयले विमानस्थलबाट फर्काएको थियो । एससीसी म्यानपावर कम्पनीबाट जोर्डनको मास क्रेडा अल सफीमा काम गर्न अनुमति पाएका महिला श्रमिकहरुलाई अध्यागमनले शंकास्पद भिसा भन्दै फर्काएको थियो ।