बालकृष्ण खाँणको निलम्बनका विषयमा देउवा किन चाहँदैनन्

सहयात्रा टिभी

काठमाडौं । असार २९, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निलम्बनका विषयमा व्यक्तिगत विचार राख्न दिने भए पनि कुनै संस्थागत एजेन्डा नलैजाने संकेत पार्टीले देखाएको छ ।

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँण अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । साउन २ देखि बोलाइएको केन्द्रीय समितिको बैठकमा खाँण निलम्बनको प्रस्ताव औपचारिक रुपमा प्रवेश नपाउने भएको छ ।

सभापति शेरबहादुर देउवा निलम्बन गर्ने पक्षमा नरहेकाले उक्त विषयलाई प्रवेश नै गराउन नचाहेको शीर्ष तहका एक नेताले बताए ।

गम्भीर अपराधमा संलग्नता देखिएकाले हाल कारागारमा राखिएका खाँणजस्तै एमाले सचिव टोपबहादुर रायमाझी लगायत नेतालाई सम्बन्धित पार्टीले कारबाही गरिसक्दा पनि देउवा तयार नहुनुका अर्थहरु छन् ।

केन्द्रीय समितिको बैठकका लागि एजेण्डा तय गर्न देउवाले दुई पटक डाके पनि प्रस्ताव तयार हुन सकेको छैन । कांग्रेस नेताहरुका अनुसार केन्द्रीय समिति बैठकमा खाँणको निलम्बनको विषय सकभर नउठोस् भन्ने देउवाले चाहेका छन् ।

निलम्बनलाई छलफलको एजेण्डाका रुपमा नराखिए पनि केन्द्रीय सदस्यले आफ्नो धारणा भने राख्ने भएका छन् । ‘कुरा त केन्द्रीय समितिमा किन उठाउन नपाउनु रु सबै किसिमका कुराहरु उठाउन पाइन्छ,’ केन्द्रीय सदस्य श्याम घिमिरे भन्छन् ।

समसामयिक घटनाक्रमको छलफलको प्रस्ताव अन्तर्गत रहेर केन्द्रीय सदस्यले भ्रष्टचार र निलम्बनको कुरा उठाउने भएका छन् । पार्टी नेतृत्वले पूर्व गृहमन्त्री खाँणलाई निलम्बन गर्ने प्रस्ताव नल्याए पनि बैठकमा खुला छलफल हुने शीर्ष तहका एक नेताले बताए ।

पूर्व मन्त्री खाँणलाई पार्टीको जिम्मेवारीबाट हटाउने हुनेरनहुने पार्टीमा स्पष्ट दुई धारमा छ । उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा खाँणलाई निलम्बन गर्नुपर्ने तर्क पार्टीभित्र राखिरहेका छन् । संस्थापनइतरका नेता डा.शेखर कोइरालाले दोषीलाई चोख्याउन र ढाकछोप कुनै पनि बहानामा गर्न नहुने मत राखेका छैनन् ।

पार्टीले कारबाही गर्नुभन्दा खाँण स्वयंले जिम्मेवारीबाट अलग भएको घोषणा गर्नु उपयुक्त हुने राय पनि कतिपय नेताले राखेका छन् ।

कांग्रेसभित्र खाँणलाई निलम्बन गर्न नहुने पक्षधरको बहुमत रहेको छ । लामो समयसम्म देउवालाई साथ दिँदै आएका खाँणलाई पार्टी जिम्मेवारीबाट अलग गर्ने पक्षमा देउवा देखिन्नन् । देउवा खाँणलाई निलम्बन नगरेर उनी पक्षीय नेताहरुको सहानुभूति लिन चाहन्छन् ।

बिस्तारै तिनलाई आफ्नो क्याम्पमा तान्न सकिन्छ भन्ने उनको चाहनाले काम गरेको छ । खाँण विगतमा मूल रुपमा आफ्नै समूहभित्र भए पनि उनको अलग्गै शक्तिशाली उपुगट रहेकाले देउवा सतर्कतापुर्वक कदम चाल्न चाहन्छन् ।

 

 

प्रकाशित : 14 July, 2023

प्रतिक्रिया दिनुहोस्