केपी ओली प्रचण्ड माधव नेपाल एमाले


साउन १ गतेभन्दा अगाडि काटेका हवाई टिकटमा भ्याट नलाग्ने

सहयात्रा टिभी

काठमाडौं । साउन १, सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ ।

१५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो । तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट यस क्षेत्रमा भ्याट अनिवार्य भएको आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसअनुसार १ साउनबाट टिकट काट्दा अनिवार्य भ्याट तिर्नुपर्ने तर त्यसअघि काटिएका टिकटमा भने भ्याट नलाग्ने मैनालीले जानकारी दिए । मूल्य अभिवृद्धि कर लागु हुनुभन्दा पहिला काटिएको हवाई टिकटमा लागू भएपछि यात्रा गर्दा पनि भ्याट असुल गरिने छैन । यद्यपि यस्तो यात्राको विवरण भने वायुसेवा कम्पनीहरुले आन्तरिक राजस्व विभाग मातहतका कर कार्यालयमा गराउनु पर्ने भएको छ ।

बिक्री भएको हवाई टिकट रद्द भई यात्रुले फिर्ता पाउने अवस्थामा बिक्री फिर्ताको हिसाब देखाएर मिलान गर्न सकिनेसमेत विभागले जनाएको छ । भ्याट कार्यान्वयनपछि अधिकतम् ६ प्रतिशतसम्म भाडा महंगो हुने वायुसेवा कम्पनीहरुले जनाएका छन् ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर लाग्ने भएको वा कर लाग्ने कारोबारको सीमा २० लाख रुपैयाँ नाघेको हकमा ३० दिन भित्र कारोबार दर्ता गरी कर संकलन सुरु गर्नुपर्ने प्रावधान छ ।

विभागले ११ असारमै सूचना प्रकाशित गरी यसबारे वायुसेवा कम्पनीलाई जानकारी गराएको थियो । यसका लागि हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि करमा दर्ता हुन दरखास्त दिनुपर्छ । विदेशी हवाई यातायात सेवा प्रदायक समेत अब भ्याटमा दर्ता हुनु पर्नेछ । उनीहरुले सम्बन्धित निकायबाट जारी भएको सञ्चालन अनुमति पत्रको प्रतिलिपी समेत संलग्न गर्नुपर्ने विभागले जनाएको छ ।

दर्ता हुँदाका बखत मौज्दातमा रहेको कर लाग्ने कारोबारमा प्रयोग हुने वस्तुमा तिरेको कर वा तिर्नुपर्ने कर दर्ता हुनु भन्दा एक वर्ष अघिसम्मको कर कट्टी गर्न पाउने समेत विभागले जनाएको छ । यस्तो कर कट्टी दाबी गर्न दर्ता भएको १५ दिनभित्र निवेदन दिनुपर्छ ।

विभागका अनुसार हवाई यातायात सेवा प्रदायकले मूल्य अभिवृद्धि कर (मूअक) बाहेकको कर लाग्ने मूल्यमा बीजक जारी गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीले खरीद गरेको टिकटमा आफ्नो मुनाफा वा कमिसन जोडी हुन आउने मूल्यमा मूअक जारी गर्नुपर्ने भएको छ । हवाई सेवा प्रदायकले उपभोक्ता मूल्यमा टिकट जारी गरेको अवस्थामा समेत ट्राभल एजेन्सीले समेत सोही मूल्यमा बीजक जारी गर्नुपर्ने विभागको भनाइ छ । आन्तरिक हवाई सेवा प्रदायकले प्रदान गर्ने सेवाको हवाई टिकटको मूल्यमा मूल्य अभिवृद्धि कर संकलन गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय हवाई यातायात सेवाको हकमा नेपालबाट प्रस्थान गर्ने यात्रुको टिकटमा उल्लेखित गन्तव्यसम्मको मात्र टिकटमा भ्याट लाग्ने भ्एको छ । यस्तो उडानको टिकट नेपाल भित्र वा नेपाल बाहिर जहाँबाट जुनसुकै माध्यम (अनलाइन)बाट जारी गरेको वा खरीद गरेको भए पनि एयरलाइन्सले भ्याट लगाउनु पर्ने समेत विभागले स्पष्ट पारेको छ । दुबै तर्फको टिकट जारी गर्दा भने विदेशबाट नेपाल आउँदाको हवाई टिकटमा मूअक संकलन गर्नु नपर्ने विभागको भनाइ छ ।

प्रकाशित : 17 July, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्