रुकुम पश्चिममा पहिलो पटक ब्लड बैंक सञ्चालनमा

काठमाडौं । साउन २, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पहिलो पटक ब्लड बैंक सञ्चालनमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी चौरजहारी शाखाको पहल र चौरजहारी नगरपालिकाको लगानीमा वडा नं १ मा ब्लड बैंक सञ्चालनमा आएको हो ।
दुई वर्ष अघि ब्लड बैंक स्थापनाको तयारी भए पनि बीचमा यो काम अलपत्र परेको थियो ।
ब्लड बैंक निर्माणका लागि अहिलेसम्म ४० लाख रुपैयाँ खर्च भइसकेको छ । जसमध्ये भवन निर्माणमा २८ लाख रुपैयाँ र बाँकी रकम उपकरण व्यवस्थापनमा खर्च भएको उहाँले जानकारी दिनुभयो । भवन निर्माणसहित शय्या, फर्निचर, कार्यालय व्यवस्थापन, सोलार, तारबारलगायतका काम त्यही बजेटबाट भएको उहाँको भनाइ छ ।
ब्लड बैंक स्थापना भएपछि अब चौरजहारी अस्पताल र जिल्ला अस्पताल सल्लेमा रगत अभाव नहुने विश्वास लिइएको छ । अहिले सुत्केरी, गर्भवती, विभिन्न दुर्घटनामा परेका घाइते तथा विभिन्न बिरामीलाई रगत आवश्यक पर्दा विभिन्न व्यक्तिलाई गुहार्नुपर्ने बाध्यता छ ।