सेनाको संख्या कटौतीको बहस आपत्तिजनक रहेको लिङ्देनको टिप्पणी

सहयात्रा टिभी

काठमाडौँ । साउन ३, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली सेनाको संख्याका विषयमा भइरहेको बहस आपत्तिजनक रहेको भन्दै टिप्पणी गरेका छन् ।

 

बुधबार एक विज्ञप्ति जारी गरी उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत नेपाली सेना प्रतिवद्ध रहेको भन्दै उसलाई कमजोर बनाउने गरी बहस गर्न नहुने बताएका छन् ।

‘‘अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक छ’, लिङ्देनले भनेका छन् ।

स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूले योजनाबद्ध ढंगबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्नेजस्ता विषयमा अभिव्यक्ति दिएको भन्दै लिङ्देनले यस्ता बहस रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण भनेका छन् ।

राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू रहेको भन्दै उनले नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रित गर्न नहुने बताएका छन् ।

‘नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार गर्दैन । तसर्थ, सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाई अक्षुण्ण राख्न सबैको साझा प्रतिवद्धताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हार्दिक आह्वान गर्दछ’, लिङ्देनले भनेका छन् ।

प्रकाशित : 19 July, 2023

प्रतिक्रिया दिनुहोस्