सुन बरामद अपडेट : एजेन्टसहित ६ जना पक्राउ

काठमाडौँ । साउन ४, राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् ।
विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाको पहिचान खुलाइएको छैन ।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जनालाई पक्राउ गरिएको ढुङ्गानाले जानकारी दिए ।
उनले सुन हङकङबाट ल्याइएको खुलेको बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । उनले भने, ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ ।’
हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।
बरामद गरिएको सुन ८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरिए पनि यसको यकिन परिमाणबारे विभागले आज जानकारी गराउने तयारी गरेको छ ।