बजेटमा घोषणा भएका सरकारी निकाय साउनभित्रै खारेजीको तयारी

सहयात्रा टिभी

काठमाडौँ । साउन ४, सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ मा घोषणा गरेका सरकारी निकायको खारेजी वा एकीकरणको विधि साउनभित्रै तय गरिने भएको छ ।

मन्त्रिपरिषद् कार्यालयको १५ असारमा बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो ।

कार्यालयका अनुसार सम्बन्धित मन्त्रालय, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसहितको संयन्त्रले साउन २०८० भित्र कार्यान्वयनको विधि पहिचान गरिसक्ने गरी समय तोकिएको छ ।

त्यसपछि २०८० मंसिर भित्र संगठन तथा व्यवस्थापन सर्वेक्षणको काम सम्पन्न गरी यो घोषणा कार्यान्वयनमा लैजाने निर्णय समितिले गरेको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक खर्च पुनरवलोकन आयोग २०७५ ले दिएका सुझाव कार्यान्वयन गर्दै लैजाने योजना अनुसार चालु आवको बजेटमा विभिन्न २० वटा निकाय खारेजी वा गाभिने गरी निर्णय गरेको थियो ।

५ वटा निकायलाई भने पुनर्संरचना गर्ने गरी अर्थ मन्त्रालयले बजेट सार्वजनिक गरेको छ । पर्यटन प्रवर्धन विकास समितिहरु भने सम्बन्धित प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिने भएको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० निकाय खारेजीमा पर्नेछन् ।

उस्तै प्रकृतिको कार्यक्षेत्र रहेका निकाय एक आपसमा गाभ्ने गरी निर्णय भएको छ । बजेटले नै खारेज भएका निकायको सम्पत्ति र दायित्व व्यवस्थापनको काम सम्बन्धित मन्त्रालयबाट मंसिरसम्म गरिसक्ने गरी समय तोकेको छ ।

 

प्रकाशित : 20 July, 2023

प्रतिक्रिया दिनुहोस्