जुम्लाको गुठीचौरका सात घरमा अज्ञात समूहद्वारा आगजनी

सहयात्रा टिभी

जुम्ला । साउन ६, जुम्लाको गुठीचौर गाउँपालिकामा अज्ञात समूहले सात घरमा आगजनी गरेको छ । गुठीचौर–४ स्थित विभिन्न गाउँका सात घरमा आगजनी भएको वडाध्यक्ष टीकादत्त न्यौपानेले जानकारी दिए ।

उनका अनुसार धवलपुर गाउँका प्रेम न्यौपाने र खडान्द पाण्डे, बाउली गाउँका कविदत्त न्यौपाने, डाँडाबाडा गाउँका कविदत्त न्यौपाने, दलिबाडा गाउँका लालचन्द्र सार्की र बिगारे गाउँका भीमप्रसाद जैसीका घरमा अज्ञात समूहबाट आगलागी भएको छ ।

धिता र देपाल गाउँमा पनि यस्तो घटना भएको जनाइएको छ । सो समूहले सडकमा रोकिराखिएको ट्रयाक्टरमा समेत आगो लगाएको छ । सबैभन्दा धेरै बाउली गाउँका कविदत्तको घरमा क्षति भएको वडाध्यक्ष टीकादत्तले बताए ।

आगो लागेको घरमा समयमै थाहा पाउँदा अधिकांश घर क्षति हुनबाट जोगिएका छन् । आगो लगाइएको कुरा थाहा पाउने बित्तिकै जिल्लाबाट प्रहरीको टोली खटाएको जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिए । प्रहरीले विशेष अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले बताए ।

प्रकाशित : 22 July, 2023

प्रतिक्रिया दिनुहोस्