मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा पुरानै नीतिलाई निरन्तरता

काठमाडौँ । साउन ७, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमार्फत घरजग्गा कारोबारमा पुरानै नीतिलाई निरन्तरता दिएको छ ।
यसअघि अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा फेयर बजार मूल्यको अनुपातमा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानमा बढीमा ४० प्रतिशतसम्म मात्रै लिन पाइने व्यवस्था गरेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो नीतिमा कुनै परिवर्नत गरिएको छैन ।
घरजग्गा व्यवसायलाई अनुत्पादक मान्दै राष्ट्रबैंकले यसमा जाने कर्जामा कडाइ गर्दै आएको छ । तर, बैंक तथा वित्तीय संस्थाले अधिकांश ऋण घरजग्गाकै धितोमा दिने गरेका छन् ।
आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तसम्म नेपालका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामध्ये ६८ प्रतिशत घर तथा जग्गाको धितोमा प्रवाह भएको छ ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाले कुल ४८ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा ३३ खर्ब ३ अर्ब बराबरको ऋणमा धितोस्वरुप घर तथा जग्गा राखिएको नेपाल राष्ट्रबैंकको तथ्यांक छ ।
घरजग्गा व्यवसायीहरुले घर जग्गा धितोमा कर्जा सीमा ७० प्रतिशत पुर्याउन माग गरेका थिए । तर, राष्ट्र बैंकले यसमा नीतिगत रुपमा कुनै सहुलियत नदिएको हो ।
तर, पहिलो घर खरिद गर्ने सर्वसाधारणलाई भने मौद्रिक नीतिले केही सहुलियत दिएको छ । पहिलो घर खरिद गर्ने व्यक्तिलाई दिने ऋणको सीमा २ करोड रुपैयाँ पुर्याइएको छ । यसअघि पहिलो आवासीय घर कर्जाको सीमा १ करोड ५० लाख रुपैयाँ थियो ।