आईएमएफले नेपालको १६ औं आवधिक योजनाबारे चासो

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको १६ औं आवधिक योजनाबारे चासो राखेको जनाएको छ ।

आईएमएफका मिसन चिफ टिडाइन किन्डा नेतृत्वको टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेट्दै यस्तो चासो राखेको हो ।

आईएमएफको नयाँ मिसन चिफको रुपमा आएका किन्डा नेतृत्वको टोलीले उपाध्यक्ष श्रेष्ठसँग सिंहदरबार स्थित आयोग कार्यालयमा भेटवार्ता गरेको छ ।

भेटमा आईएमएफले राष्ट्रिय योजना आयोगले तयार गर्ने १६ औं योजना तर्जुमाको विषयमा चासो राखेको आयोगले जनाएको छ ।

१६ औं योजनासँगै नेपालको आर्थिक विकास, सरकारका नीति तथा योजना पब्लिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट एसेसमेन्ट (पीमा) सुझाव कार्यान्वयनको स्थिति, अल्पविकसित मुलुकको श्रेणीबाट स्तरोन्नति, पूँजीखर्चको अवस्था तथा नेपालको अर्थतन्त्रका तत्कालीन र दीर्घकालीन चुनौतीहरुका विषयमा समेत छलफल भएको थियो ।

आयोग उपाध्यक्ष श्रेष्ठले नेपाललाई गर्दै आएको सहयोगका लागि आईएमएफको टोलीलाई धन्यवाद दिएका थिए ।

जुलाई २० मा नेपाल आएको आईएमएफको मिन टोली २६ जुलाईसम्म नेपालमा रहने छ । भेटघाटमा आईएमएफका देशीय प्रतिनिधि टेरेसा डवानसान्चेज र आयोगका अधिकारीहरु सहभागी थिए ।

 

प्रकाशित : 24 July, 2023

प्रतिक्रिया दिनुहोस्