भ्रष्ट्राचारमा तथ्य प्रमाणले भेटिएका जो सुकैलाई छाड्दैनौं : गृहमन्त्री श्रेष्ठ

सहयात्रा टिभी

काठमाडौँ । साउन ८, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्ट्राचार तथा अनियमितताका घटनामा तथ्य प्रमाणले भेटिएका जो सुकैलाई नछाड्ने बताएका छन् ।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले स्वच्छ र निश्पक्ष ढंगले अनुसन्धान अगाडि बढाउन निर्देशन दिइएको बताए । दोषीलाई छोड्नु हुन्न, निर्दोष नफसुन् भन्ने मान्यता रहेको भन्दै उनले भने, ‘तथ्य प्रमाणका आधारमा जहाँसम्म जानुपर्ने गरी दोषीलाई फेला पार्न अगाडि बढ्नुपर्ने हो, त्यहाँसम्म पुग्छ ।’

राजनीतिक नेताहरुलाई एउटा, राजनीतिमा नरहेकाहरुलाई अर्को कानुन हुन नसक्ने उनले बताए । उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘कर्मचारीलाई एउटा कानुन, त्यो कर्मचारी कहाँ धाउनेलाई अर्को कानुन हुन सक्दैन । धनीलाई एउटा कानुन, गरिबलाई अर्को कानुन म मान्दिन, सरकारले त्यसलाई स्वीकार गर्न सक्दैन । काननु सबैका लागि समान हुन्छ ।’

तर कसैलाई बढी गर्‍यो त कसैलाई तान्नुपर्नेलाई तानेन भन्ने लागेको उनले बताए । ‘तपाईंको मनले ठानेको वा तथ्य नै पनि होला । तर प्रमाण नभएसम्म राज्यले सरकारले केही गर्न सक्दैन । ब्याक फायर हुने काम गर्दैन’, उनले भने ।

तथ्य प्रमाणले भेटेसम्म सबैलाई कानुनको दायरामा ल्याउने गृहमन्त्री श्रेष्ठले बताए । माओवादी केन्द्रको होस्, कांग्रेसको होस्, एमालेको होस्, एकीकृत समाजवादीको होस्, जनता समाजवादीको होस्’, उनले भने, ‘पार्टीको मलाई कुनै तलब छैन, सरकारलाई कुनै मतलब छैन । सबै समान हुन् कि भ्रष्टाचारी हुन् कि भ्रष्टाचारी होइनन् । कि दोषी हुन् कि दोषी होइनन् ।’

 

प्रकाशित : 24 July, 2023

प्रतिक्रिया दिनुहोस्