सिद्धार्थ राजमार्ग, पाल्पा-गुल्मी र कालीगण्डकी करिडोरमा पहिराले यातायात अवरुद्ध

पाल्पा । सउन ९, अविरल वर्षाले सिद्धार्थ राजमार्ग, पाल्पा–गुल्मी र कालीगण्डकी करिडोर सडकअन्तर्गत पाल्पा खण्डमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा मंगलबार बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
राजमार्गको तिनाउ गाउँपालिका–३, को सिद्धबाबा खण्डअन्तर्गत हेडवर्क्समा ठूलो पहिरो खसेको छ । प्रहरीका अनुसार पहिरो खुलाउन कम्तीमा दुई घण्टा लाग्छ । ढुंगासहितको पहिरो खसेको र निरन्तर वर्षाले सफा गर्न समस्या भएको छ ।
राजमार्गअन्तर्गत पानीमिल, हिउँदेखोला, डुम्रेलगायत दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको राजमार्गका प्रहरी युनिटले जनाएका छन् । पानी परिरहेकाले पहिरो सफा गर्न नसकिएको दोभान प्रहरी चौकीले जनाएको छ । सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएपछि तराईबाट पहाडी जिल्लामा चल्ने सवारी साधन बुटवलमै रोकिएको प्रहरी चौकी दोभानले जनाएको छ ।
बर्तुङदेखि डुम्रेसम्म पनि ठाउँठाउँमा पहिरो खसेको छ । कालीगण्डकी करिडोरअन्तर्गत रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुलनजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । सडक अवरुद्ध हुँदा पाल्पाबाट अन्यत्र जिल्ला हिँडेका र तराईतर्फ हिँडेकाहरु सडकमै अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ ।
पाल्पा–गुल्मी सडकअन्तर्गत तानसेन नगरपालिका–५, कैलाशनगर बतासेनजिकै सल्लाका रुख ढलेर सडक अवरुद्ध भएको छ । डम्पिङ साइटनजिकै ६ वटा सल्लाका रुख ढलेको प्रहरीले जनाएको छ । पाल्पा–गुल्मी सडककै ढुंगाखानीनजिकै पहिरो खसेको छ । निरन्तर पहिरो खसेकाले सफा गर्ने र खस्ने क्रम जारी रहेको छ । माथिल्लो भागबाट निरन्तर पहिरो खसेपछि सवारी साधन र यात्रुलाई सास्ती भएको छ ।