उपसभापति र महामन्त्रीहरु अगाडि बढ्नुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । साउन ९, नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामूहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतिहरु र नेपाली काँग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, ‘तपाईहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो । अहिलेसम्म तपाईहरुसँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन ? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस् । चाहे रामचन्द्रजी होस् । चाहे कृष्ण सिटौला होस् । चाहे शेखर कोईराला होस् । हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो ।
आज भाषण गर्ने, बोल्ने, कुरा गर्ने तर सँगै बसेर संयुक्त रुपले झगडा नगर्दा यो भनाइ खाइरहनुपरेको छ । त्यसकारण म सुझाव दिन चाहन्छु तपाईहरुले टिम बनाउनुस् । त्यो टिम बनाउनुभयो भने तपाईहरुलाई समयले स्वागतका लागि प्रतिक्षा गरिरहेको छ । टिम बनाउनुस् ।,
उनले पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने बताए । उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे ।