कान्ति बाल अस्पतालले ३० लाख क्षतिपूर्ति तिर्नु पर्ने सर्वोच्चको आदेश

सहयात्रा टिभी

काठमाडौं । साउन १२, कान्ति बाल अस्पतालले एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको मुद्दामा सर्वोच्च अदालतले ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयाँल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदेश गरेको हो ।

घाँटीमा समस्या भएर कान्ति बाल अस्पतालको इमर्जेन्सीमा उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइ दिँदा क्षति पुगेको भन्दै उक्त रकम भराउन आदेश दिइएको हो ।

पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै मुद्दा हालेका थिए ।

२०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । त्यही राति नर्सले अर्कै बालकका लागि तयारी पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आलोकलाई लगाइएको थियो । त्यसपछि बच्चामा सास फर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षण देखिएको थियो ।

बालकको स्वास्थ्य अवस्थामा थप जटिलता आएपछि स्वास्थ्यकर्मीले राति दुई बजे अन्तर्राष्ट्रिय बाल मैत्री अस्पताल रिफर गरेका थिए । बालकलाई २८ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

त्यसको अठार महिनापछि भने बच्चाको खुट्टा नचल्ने, कान नसुन्ने, आँखाको नसा सुकेर आँखा नदेखिने समस्या देखिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तर्फबाट डा। आयुष्मा रेग्मीले तयार गरेको प्रतिवेदनअनुसार बालकमा देखिएको लक्षण मेनेन्जाइटिस मलेरियाको खोपको साइड इफेक्टबाट देखिने प्रमाणित हुने अदालतको ठहर छ ।

 

 

 

प्रकाशित : 28 July, 2023

प्रतिक्रिया दिनुहोस्