मिटरव्याजि मालीविरुद्ध मावनबेचबिखनमा जाहेरी

काठमाडौं । साउन १४, ५ लाख ऋण दिएर ६५ लाख रुपैयाँको तमसुक बनाएर एक महिलाको घरजग्गा कब्जा र जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक मिटरव्याजी सुर्जमान मालीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेर पीडितले मालीविरुद्ध मानवबेचबिखन तथा ओसारपसार ऐन, २०६४ विरुद्धको कसुरमा किटानी जाहेरी दिएको ललितपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पीडितले मालीसँगै धापाखेलका उमेश शाहीविरुद्ध पनि जाहेरी दिएकी छन् । पीडितका अनुसार, उनी २०७५ सालको अन्तिमदेखि ०७६ साउनसम्म पटकपटक बलात्कारमा परेकी थिइन् ।
मालीले सुरुमा आफूले बलात्कार गरेको त्यसपछि अन्य व्यक्तिलाई भेट्न पठाएर समेत जबरजस्ती करणी गराएको पीडितको भनाइ छ । तर, जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि हदम्याद नाघिसकेको भन्दै मानवबेचबिखनविरुद्धको कसुरमा मात्रै जाहेरी परेको हो ।
मालीमाथि थप अनुसन्धानका लागि जिल्ला अदालत, ललितपुर हाजिर गराएर आइतबार हिरासतमा राख्न अनुमति लिने तयारी छ । यो घटनाकी पीडितले शुक्रबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पनि भेटेकी थिइन् । लगत्तै ललितपुर प्रहरीको विशेष टोलीले उनलाई पक्राउ गरेको थियो ।
घटनामा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान थालिएको प्रहरी स्रोतले जनाएको छ ।