मकवानपुरमा सार्वजनिक जग्गामा नरिवल खेती शुरु

काठमाडौँ । साउन १९, मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती शुरु गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार तीन सय ६० वटा नरिवलको बिरुवा रोपेको हो ।
नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती शुरु गरेको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमिनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।