राजश्वद्धारा सुन तस्करीको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा

सहयात्रा टिभी

काठमाडौं । साउन २१, राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको सम्पूर्ण अनुसन्धान नेपाल प्रहरीलाई जिम्मा लगाएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर विभागका महानिर्देशक नवराज ढुंगानाले सुन तस्करी अन्तरदेशीय संगठित अपराध भएकाले विभागले थप छानबिन र मुद्धा अभियोजनको सम्पूर्ण जिम्मेवारी प्रहरीलाई सुम्पिएको जानकारी दिए ।

पक्राउ परेका सबै आरोपितलाई पनि प्रहरीको जिम्मा लगाइने महानिर्देशक ढुंगानाले बताए । ४६ वर्ष लामो इतिहासमा पहिलो पटक विभागले अनुसन्धान चल्दाचल्दै आफ्नो क्षेत्राधिकारको मुद्धा प्रहरीलाई सुम्पिएको हो ।

२ साउनमा विभागले एक सय किलो सुन विमानस्थल भन्सारको मुल गेटमा बरामद गरेको थियो । हङकङबाट नेपालमा भित्र्याइएको सो सुन प्रकरणमा हालसम्म २ जना चिनियाँ र एक भारतीय सहित १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा ३ जना विमानस्थल भन्सारका कर्मचारी पनि रहेका छन् ।

सुन बरामद भएको तेस्रो सातासम्म विभागले सुन तस्करको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाका चार वटा गोदाममा छापा मारेको थियो ।

 

प्रकाशित : 6 August, 2023

प्रतिक्रिया दिनुहोस्