बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित

काठमाडौं । साउन २२, प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।
संसदको अवरोध खोल्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सहमति नजुटेपछि सूचना टाँसेर स्थगित भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।
सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भएको छैन । संघीय संसद सचिवालयले सूचना टाँसेर प्रतिनिधिसभाको बैठक २३ साउनको दिउँसो ३ बजे बस्ने जानकारी दिएको छ । यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागले २ साउनमा सिनामंगल क्षेत्रबाट बरामद गरेको थियो । सो प्रकरणमा प्रधानमन्त्री कार्यालय मातहतको राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको थियो ।
तर नेकपा एमालेले सरकारी अनुसन्धानमा आफूहरुलाई विश्वास नभएको भन्दै सुन तस्करी छानबिनमा उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राखेको छ ।