यात्रामा निस्कनु अघि सडक अवरुद्ध बुझेरमात्रै यात्रा गर्न आग्रह

सहयात्रा टिभी

काठमाडौँ । साउन २३, ठूलो वर्षाका कारण पहिरो खस्दा देशभर ठाँउठाँउमा सडक अवरुद्ध भएका छन् ।

अविरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी कोरिडोर अवरूद्ध भएको छ ।

बाग्लुङ–बुर्तिबाङ सडक खण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र कोरिडोरको बाग्लुङ नगरपालिकाको गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको हो ।

यस्तै दाङको घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

यसैगरी  चितवनको इच्छाकामना गाउँपालिका–६ मा रहेको कालीखोलामा पहिरो खसेसँगै नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । केहीबेर सडक खुलाए पनि फेरि बन्द भएको छ ।

यस्तै हेटौँडालाई काठमाण्डौसँग जोड्ने दुई वटा छोटा राजमार्ग कान्ति लोकपथ र मदन भण्डारीमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको छ ।  यस्तै पृथ्वी राजमार्गको दमौली–डुम्रे सडक खण्डअन्तर्गत व्यास–१२ देउरालीमा सडक भासिएको छ ।

सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल–बर्दिबास जोड्ने वीपी राजमार्ग अवरुद्ध भएको छ ।

वीपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका–११ कालढुङ्गामा पनि सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । यस्तै नुवाकोटको ककनी गाउँपालिका–४ निगालोमा पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडक खण्ड पनि अवरुद्ध छ । डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा पहिरो झर्दा बतुडर–जोगबुढा भित्री सडक खण्ड अवरुद्ध भएको छ ।

प्युठानको गर्जेनीमा पहिरो जाँदा भालुबाङ–प्यूठान–रोल्पा सडक खण्ड अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै पाल्पाको तिनाउ गाउँपालिका–३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ । ठाउँठाउँमा सडक बन्द भएकाले सडकको अवस्थाबारे जानकारी लिएरमात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

 

प्रकाशित : 8 August, 2023

प्रतिक्रिया दिनुहोस्