विभूषण लिलामी बारे सूचित गर्दै सरकारद्धारा महावीर पुनलाई पत्र

काठमाडौँ । साउन २३, सरकारले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरकारबाट दिइएको विभूषण लिलामीमा नराख्न सूचित गर्दै पत्र काटेको छ ।
गृह मन्त्रालयले विभूषण लिमालीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने व्यहोराको पत्र महावीरलाई पठाएको हो । मन्त्रालयले पठाएको पत्रमा सामाजिक सञ्जालबाट लिलामीबारे जानकारी पाएको उल्लेख छ ।
महावीरले कृषि सामग्री कम्पनी सञ्चालनका लागि सरकारले प्रतिवद्धताअनुसार सहयोग नगरेको भन्दै कीर्तिमय राष्ट्रदीप द्वितीय विभूषणसहित विभिन्न मानपदवी लिलामीमा राखेको घोषणा गरेका थिए ।
तर, गृह मन्त्रालयले त्यसो नगर्न पुनलाई सचेत गराएको छ । ‘विभूषण ऐन, २०६४ को दफा २६ (१) बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ ।