प्रचण्डले गरे २१ मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौँ । साउन २५ , प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
अब सरकारले कार्यसम्पादन मूल्यांकनको आधारमा मन्त्रीहरुको कामको मासिक रिपोर्ट कार्ड पनि बनाउने जनाएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता हस्ताक्षर गरेका हुन् ।
संघीय सरकारका २१ जना मन्त्रीले आफूले नेतृत्व गरेको मन्त्रालयले गर्ने कामको कार्यसूचीसहित प्रधानमन्त्रीसँग सम्झौता गरेका छन् ।
सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।
सम्झौतापत्रमा गर्नुपर्ने प्रमुख कामहरु उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची र सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख छ ।