संखुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

सहयात्रा टिभी

संखुवासभा । साउन २६, संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्।

घटनामा प्रहरी नै संलग्न देखिएपछि कारागार सुरक्षामा खटिएका असईसहित १० जना प्रहरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै कुटपिटबाट मारिएका थिए।

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए ।

सुरक्षा घेराभित्र दुईजना कैदीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटना अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय (विराटनगर) बाट प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा चार सदस्यीय समिति संखुवासभा पुगेको छ।

प्रकाशित : 11 August, 2023

प्रतिक्रिया दिनुहोस्