वैशाखदेखि प्लास्टिकका खोलमा प्याकिङ सुर्तीजन्य पदार्थ बिक्री गर्न नपाइने

सहयात्रा टिभी

काठमाडौं । साउन २६, सुर्तीजन्य वस्तु (सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु) अब प्लास्टिकको खोलमा प्याकिङ गरी बिक्री गर्न नपाइने भएको छ ।

सरकारले अन्तःशुल्क नियमावलीमा २४ औं संशोधनमार्फत यस्तो नियम ल्याएको हो । आन्तरिक राजस्व विभागका अनुसार यो नियम १ वैशाख २०८१ देखि लागु हुनेछ ।

सो अवधिसम्म यस्तो वस्तु उत्पादन गर्ने प्रतिष्ठानहरुले प्लास्टिक विस्थापित गरिसक्नुपर्ने भएको छ । नियमावलीमा संशोधन गर्दै भनिएको छ, ‘सुर्ती, खैनी, गुट्खा, पान मसला, स्वीट सुपारी वा यस्तै प्रकारका वस्तु उत्पादन गर्ने प्रतिष्ठानले १ वैशाख २०८१ देखि प्लास्टिक बाहेकका जैविक रुपमा सडेर जाने (बायोडिग्रेडेबल) सामग्रीमा मात्र प्याकिङ गर्नुपर्नेछ ।’

उता, अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । यो नियम भने १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको २४ औं संशोधनले यस्तो व्यवस्था गरेको भन्दै विभागले सूचित गरेको छ ।

नयाँ नियम अनुसार १ असोजदेखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडरबाहेक)को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो । १ असोज २०८० देखि यो नियम उल्लंघन भएमा कानुन अनुसार कारवाही हुने समेत विभागको चेतावनी छ ।

 

प्रकाशित : 11 August, 2023

प्रतिक्रिया दिनुहोस्