त्रिशूली नदीको बाढीले दुईवटा झोलुङ्गे पुलमा क्षति

काठमाडौ । साउन ३०, त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेष गरी किसान र विद्यार्थीसमस्यामा परेका छन् ।
किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् ।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुङ्गे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौँ चितवनलगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ ।
यस पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसान बजारसँगको सम्पर्क विच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिए । पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका बासिन्दालाई समस्या भएको छ ।
बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जानआउन समस्या भएको छ । पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शङ्खादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन् ।