नेपाल टेलिकमको सञ्चालन खर्चमा वृद्धि हुँदा नाफा घट्यो
काठमाडौँ । साउन ३१, सेवा बिक्रीको आम्दानीमा गिरावट र सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनी नाफा ७.८६ प्रतिशतले गिरावट भएको हो ।
कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको वित्तीय आमदानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।
कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।