अरबको क्लबमा आबद्ध भइ ग्लोबल स्टार बन्ने नेयमारको चाहना
काठमाडौँ । साउन ३२, ब्राजिलियन फरवार्ड नेयमारले ग्लोबल स्टार बन्ने चाहनाका साथ साउदी अरबको क्लबमा आबद्ध भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मन (पीएसजी) का पूर्व स्टार ३१ वर्षीय नेयमार २ वर्षका लागि ९० मिलियन युरो र थप एड अनमा साउदी क्लब अल हिलालमा आबद्ध भएका हुन् ।
‘मैले युरोपमा धेरै उपलब्धिसँगै विशेष समयको आनन्द लिइसकेको छु,’ साउदी आउनको कारण खुलाउँदै उनले भने, ‘तर, म सधैं विश्वव्यापी खेलाडी बन्न चाहन्छु र नयाँ ठाउँहरूमा नयाँ चुनौती र अवसरहरूसँग आफूलाई परीक्षण गर्न चाहन्छु ।’
‘म खेलकुदको नयाँ इतिहास लेख्न चाहन्छु, र साउदी प्रो लिगमा यतिबेला ठूलो ऊर्जा र गुणस्तरीय खेलाडीहरू छन्’, नेयमारले भने, ‘मैले धेरै सुनेको छु र सिकेको छु कि म साउदी अरबमा वर्षौंदेखि खेलेका ब्राजिलियन खेलाडीहरूको लामो सूची पछ्याउँदै छु, त्यसैले मलाई विश्वास छ कि यो मैले रोजेको अर्को गन्तव्य हो ।’
नेयमार पीएसजीमा नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजनामा संलग्न थिएनन् ।