बालकृष्ण खाँण र मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु

सहयात्रा टिभी

काठमाडौँ । भदौ १, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँणमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो ।

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भएलगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् ।

केही दिन अघिमात्रै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाँणले केही सांसदहरुसँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकितावबारे चासो राखेकी थिइन् । त्यसक्रममा उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाँउबारे समेत सोधपुछ गरेकी थिइन् ।

खाँणमाथि घुसबापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ । प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए ।

केशवप्रसाद दुलालबाट वरामद भएको फोनमा टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन रु’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दावी छ ।

शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसीमार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैयाँ दिएको र त्यो मध्ये ३० लाख रुपैयाँ शेर्पाले राजुलाई बुझाएको प्रहरीको दाबी थियो ।

 

 

प्रकाशित : 18 August, 2023

प्रतिक्रिया दिनुहोस्